काठमाडौं— नेकपा एमालेका सांसद महेश बर्तौताले भारतबाट आयात भएका खसीबोकाको नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले नेपालका किसान बजारको माग गर्दै मन्त्रलाय धाइरहेको अवस्थामा भारतबाट ६० प्रतिशत आयात खसीबोकाले बजार कब्जा गरेको भन्दै तुरुन्तै नियन्त्रणका लागि माग गरेका हुन् ।
‘नेपालका किसान हामीले बाख्रा पाल्यौं, उत्पादन गर्यौं तर बजार पाएनौं, मूल्य पाएनौं भन्नुहुन्छ । भारतको खसीबोकाले कब्जा गर्यो बजार । नेपाल सरकारको आधिकारिक निकायलाई सोध्दा एउटा पनि खसीबोका मासुको लागि आयात भएको छैन भन्छ,’उनले भने,‘तर काठमाडौंको खसी बजारमा ६० प्रतिशत भन्दा बढी भारतबाट आएर कब्जा गरेको छ । यो कसरी आइपुग्छ ? गम्भीर प्रश्न खडा भयो । यस प्रकारको अवैध आयातमा आँखा चिम्लेर बस्ने ? यस्तो अवैध आयात तुरुन्त नियन्त्रण गरियोस् ।’