मोरक्को— अर्थमन्त्री डा.प्रकाशशरण महतले कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङलाई भेटेका छन् ।
विश्व बैंकको वार्षिक बैठकका क्रममा अर्थमन्त्री महतले चु क्यूङलाई नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाइरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको बताएका छन् ।
‘नेपाल लगानी गरेका भारतीय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सी, भारतीय कम्पनी आईटीसी ईण्डिया मात्रै होइन मलेसियन टेलिकम कम्पनीले पनि राम्रो नाफा कमाइरहेका छन् । हामीहरुले चालु आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रको लगानीलाई थप सहजीकरण गर्ने प्रयास गरेका छौं । आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने हाम्रो सोच छ । कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी इच्छुक छौं ।’
मन्त्री महतले नेपाल सरकारले इज अफ डुइङ विजनेसमा निरन्तर सुधार गरिरहेको भन्दै कोरियन लगानीकर्तालाई झन्झट नहुने बताए ।
उनले भने, ‘भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरिसकेको छ । जलविद्युत उत्पादन, प्रसारण र वितरणलाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटन लगायतका क्षेत्रमा नेपालमा राम्रो आम्दानी गर्न सक्ने अवसर छ ।’
उनले नेपाली कामदारलाई कोरियामा लगेर कोरियन कम्पनीले राम्रो प्रगती गरिरहेको भन्दै नेपालमै लगानी गरेर लाभ लिन र नेपालको आर्थिक वृद्धिमा पनि सहयोग गर्न आग्रह गरेका छन् ।