News Griha :: न्यूजगृह
बेमौसमी वर्षाले मुस्ताङमा स्याउ उत्पादन घट्यो

म्याग्दी— गत वर्ष एक लाख साठी हजारको स्याउ बेचेका मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष एक लाख बीस हजारको मात्र बिक्री गरे । थकालीका अनुसार बगैँचामा एक सय ५० स्याउका बोट छन् ।

गत वर्ष १२ लाखको स्याउ बेचेका ठिनीकै भूपेन्द्र थकालीले पनि यस वर्ष बगैँचामा स्याउ कम फलेकाले पाँच लाखमा ठेक्कामा दिएको बताए ।

राजेन्द्र र भूपेन्द्र मात्र नभएर यहाँका सबैजसो किसान यसपाली स्याउ खेतीबाट आम्दानी घटेकामा निराश भएका छन् ।

‘स्याउमा फूल खेल्ने वैशाख, जेठमा दिउँसो वर्षा र रातिमा परेको तुसारोले कम फल लागेको छ,’ राजेन्द्रले भने,‘बोटमै कम फल लागेकाले उत्पादन र आम्दानी पनि घट्यो ।’ स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख फलफूल हो ।

यसपाली स्याउ उत्पादन ४० प्रतिशतले घट्न सक्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताए ।

‘फूल खेलेर परागशेचन हुने समयमा धेरै वर्षा हुँदा फूलबाट दाना कम लागेको छ,’उनले भने,‘यसवर्ष स्याउको फूल फुल्ने समय वैशाख–जेठमा वर्षाले बोटमा परागसेचन (पोलिनेशन)हुन पाएन ।’

मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको बोटले उत्पादन दिने गरेको केन्द्रले जनाएको छ ।

‘३८ हेक्टर क्षेत्रफलमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती लगाइएको छ’,प्रमुख बस्ताकोटीले भने,‘गत वर्ष जिल्लामा छ हजार छ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।’

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १६:२१
Weather Update