News Griha :: न्यूजगृह
कास्कीमा डेंगु संक्रमण उच्च  

कास्की— जिल्लामा पछिल्ला दिनमा डेंगुको संक्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एक हजार चार सय ८१ मा संक्रमण पुष्टि भएको छ । केही दिनयता पोखराका अस्पतालमा डेंगु भएर उपचारका लागि आउनेको सङ्ख्या दैनिक बढ्दै गएको जनाइएको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ११ जना डेंगुका बिरामी उपचाररत छन् ।त्यसमध्ये दुईको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका निर्देशक डा.भरतबहादुर खत्रीले बताए ।

‘अहिले दैनिक डेंगु संक्रमितको सङ्ख्या बढिरहेको छ । पानी पर्न नरोकिएकाले अझै केही दिन संक्रमण बढ्ने देखिन्छ’,उनले भने,‘संक्रमितमा उच्च ज्वरो आउने, मांशपेशी दुख्ने, टाउँको दुख्ने, आँखा वा आँखाका गेडी दुख्ने, वान्ता हुने, थकान तथा बेचैनी हुने, जोर्नी दुख्ने लक्षण देखिने गरेका छन् ।’

स्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले संक्रमणबाट बच्नका लागि सचेतना नै महत्वपूर्ण हुने जनाउँदै लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बताए ।

‘कास्कीमा संक्रमण बढ्दै गएको छ । सचेतनाका कार्यक्रम गरिए पनि संक्रमण कम हुन सकेको छैन’, उनले भने,‘डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उपयुक्त उपाय हो । यसका लागि पानी जम्मा हुने खाल्डाखुल्डी पुर्ने, एसी, कुलरबाट जम्मा हुने पानी दैनिक परिवर्तन गर्नेलगायत कुरा सबैलाई जानकारी गराउनु पर्दछ ।’

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १४:५७
Weather Update