News Griha :: न्यूजगृह
कञ्चनपुरमा जंगली हात्तीले उखु सखाप, किसानलाई लाखाैँ घाटा 

कञ्चनपुर— बैंकबाट ऋण निकालेर लगाएको उखु जंगली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित छन् । कृषि विकास बैंकबाट १० लाख ऋण निकालेर उनले उखुखेती गरेका हुन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले रानाको डेढ बिघा जग्गामा गरिएको उखुखेतीमध्ये आधा बिघाको उखु पूरै कुल्चेर तथा खाएर नोक्सानी गरेको छ ।

‘दुई सय क्विन्टल उखु हात्तीले गए रातिमात्रै खाएर नोक्सानी पुर्‍याएको छ’,उनले भने,‘हात्तीका कारण डेढ लाख घाटा बेहाेर्नुपरेको छ ।’

छिमेकीले फोन गरेर रातिका बेला उखु बारीमा हात्तीको बथान पसेको जानकारी दिएपछि आगोको राँको बालेर तर्साएर मुस्किलले भगाउन सकिएको उनले बताए ।

घर नजिकै उखुबारी भएकाले तीन वटा छावासहित १० बढीको सङ्ख्यामा रहेको हात्तीको बथान तीन दिनदेखि लगातार आउन थालेकाले ज्यान जोगाउनकै पिरलो रहेको नन्दरानी रानाले बताइन् ।

‘हात्ती नियन्त्रणका लागि नगरपालिकाले सडक छेउमा जडान गरेका बत्ती एक महिना नपुग्दै बिग्रए, उज्यालो भएपछि हात्ती तर्सेर भाग्छन्,अँध्यारो हुँदा हात्ती उखुबारीमा पसे’,उनले भनिन्,‘हात्ती उखुबारीमा पसेर नोक्सानी पुर्‍याएपछि मात्रै वडा कार्यालयले पुनः बत्ती जडान गरेको छ ।’   

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ११:१९
Weather Update