News Griha :: न्यूजगृह
सरकारले वीर अस्पतालका कर्मचारी किन हटायो ? यस्तो छ स्वास्थ्यमन्त्रीको भनाइ

काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारी हटाइएको दाबी गरेका छन् ।

मंगलबार विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले कोभिड–१९ महामारीको समयमा नियुक्त गरिएका कर्मचारीलाई तलब दिन नसक्ने अवस्था रहेको बताए ।

उनले भने,‘वीर अस्पतालमा महामारीका बेला कोभिडको उपचार प्रयोजनका लागि राखिएका कर्मचारीलाई तलब दिन नसक्ने अवस्था भएपछि निकालिएको छ । अर्थ मन्त्रालयको एक अर्ब २३ करोड रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्रीज्यूको निर्देशनमा यो बाँड्ने काम भएको हो । सधैंभरी बाँड्न सक्ने अवस्था भएन ।’

वीर अस्पतालमा कार्यरत २ सय ७६ जना करारका कर्मचारीलाई मन्त्री बस्नेतको निर्देशनमा करार समय थप नगर्ने निर्णय भएपछि उनीहरुलाई निकालिएको थियो । 

ठूलो संख्यामा जनशक्ति निकालिएपछि अस्पतालको सेवा प्रभावित भएको छ । मन्त्री बस्नेतले लामो समयबाट स्वास्थ्य क्षेत्रमा जकडिएर रहेको समस्या एकैपटक सम्बोधन गर्न नसके पनि विस्तारै पहल गरिरहेको भन्दै चाँडो नयाँ भर्ना प्रक्रिया वा दरबन्दी सिर्जना गर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १६:५७
Weather Update