News Griha :: न्यूजगृह
सुदूरपश्चिममा स्क्रब टाइफसका एक हजार बढी बिरामी

कञ्चनपुर— सुदूरपश्चिम प्रदेशमा भदौ र असोजमा एक हजार एक सय ५२ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीमा चार सय ४० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।

दार्चुलामा एक सय ४०, बझाङमा एक सय ३३, अछाममा एक सय ११, डडेल्धुरामा ९४, कञ्चनपुरमा ९०, डोटीमा ८९, बैतडीमा ४८ र बाजुरामा सात जना स्टक्रब टाइफसबाट बिरामी भएका छन् ।

बिरामीको सम्बन्धित जिल्लाको स्वास्थ्य चौकी र अस्पतालमा उपचार भइरहेको छ । केही बिरामी उपचारपछि निको भइसकेका छन् ।

गत वर्ष स्क्रब टाइफसबाट सुदूरपश्चिम प्रदेशमा दुई हजार दुई सय ७५ जना बिरामी भेटिएका थिए । जसमा सबैभन्दा बढी डडेल्धुरामा पाँच सय ४५, कैलालीमा पाँच सय २९, कञ्चनपुरमा तीन सय ७७, दार्चुलामा तीन सय २४ बिरामी भएका थिए ।

यसैगरी, बैतडीमा एक सय ७९, अछाममा एक सय ४१, बझाङमा ६३ र बाजुरामा ६२ जनामा स्क्रब टाइफस देखा परेको थियो ।

स्टक्रब टाइफसको संक्रमण भए धेरै ज्वरो आउने, टाउको दुख्नु, धेरै पसिना आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, किर्नाले टोकेको ठाउँमा रातो दाग देखिनु र पछि गएर कालो दागका लक्षण देखिने गर्दछ ।

स्क्रब टाइफसको लक्षण कोभिड– १९ सँग मिल्दोजुल्दो हुने भएकाले पहिचान र उपचारका लागि नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा जानुपर्ने उनले बताए । स्क्रब टाइफसका बिरामी औषधी सेवनपछि पूर्णरुपमा निको हुने जोशीको भनाइ रहेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १४:४३
Weather Update