
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा अस्पतालको सघन उपचार कक्ष (आइसियू) को शुक्रबार उद्घाटन गरेका छन् ।
अस्पताल स्थापनाको ५० वर्ष पुगेको अवसरमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको आइसियू सेवाको उनले उद्घाटन गरेका हुन् । प्रधानमन्त्री दाहाल अस्पतालको स्वर्णजयन्ती समारोहका सहभागी हुन दिउँसो गोरखा आइपुगेका थिए ।
स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले अस्पतालको स्तरोन्नतीका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘प्रधानमन्त्रीको हैसियतले मैले यसै पनि सहयोग गर्नुपर्ने हुन्छ’, उनले भने, ‘अझ म यस क्षेत्रको जनप्रतिनिधि पनि भएकाले अझै बढी मेरो जिम्मेवारी छ ।’
सोही अवसरमा प्रधानमन्त्री दाहालले अस्पतालको स्वर्ण जयन्ती स्तम्भ अनावरण, स्मारिका विमोचन, अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा अस्पतालका पूर्वकर्मचारीलाई सम्मानसमेत गरे ।
सो अस्पतालको २०२९ साल चैत्र २४ गते स्थापना भएको हो । जिल्लामा १५ शय्याबाट सेवा सुरु गरेको अस्पताल वि.सं. २०६९ देखि ५० शय्यामा स्तरोन्नती भएर सेवा सञ्चालन गर्दै आएको छ ।
अस्प्तालमा आइसियू नहुँदा आइसियूमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई जिल्ला बाहिरका अस्पतालमा पठाउनुपर्ने बाध्यता रहँदै आएको थियो ।