
गोरखा— गोरखाको शहीद लखन गाउँपालिकामा विपन्न तथा सीमान्तकृत महिलालाई व्यावसायिक बनाउँदै आयआर्जन बढाउन सहयोग गर्ने उद्देश्यले स्यानिटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ ताक्लुङस्थित सामुदायिक भवनमा व्यावसायिक रुपमा स्यानिटरी प्याड उत्पादन गर्ने योजना बनाएर महिलाका लागि तालिम सञ्चालन गरिएको हो ।
गाउँपालिकाको समन्वय, यूएसएआईडीको आर्थिक सहयोग र नेपाल दलित महिला उत्थान संघ (एड्वान) को आयोजनामा भएको तालिममा नवपालुवा महिला कृषक समुहका २१ महिलाको सहभागिता रहेको एड्वानका परियोजना संयोजक कमल बसेलले जानकारी दिए ।
विद्यालय किशोरी कार्यक्रमअन्तर्गत गाउँपालिकाले स्यानिटरी प्याड बाहिरबाट खरिद गरेर ल्याउनका लागि हरेक वर्ष वार्षिकरुपमा लाखौँ रकम विनियोजन गर्दै आएकोमा अबदेखि गाउँमै प्याड उत्पादन गरी महिलालाई रोजगारी पनि दिने र आर्थिक आयआर्जन वृद्धि गर्दै विपन्न तथा सीमान्तकृत महिलालाई आत्मनिर्भर बनाउने योजना रहेको संयोजक बसेलको भनाइ छ ।
स्यानिटरी प्याड निर्माणका लागि आवश्यकमेसिनसमेत खरिद गरी सोही मेसिनबाट नै प्याड उत्पादनको तालिम सञ्चालन भइरहेको हो ।
गाउँपालिकामा उत्पादन गर्न लागिएको स्यानिटरी प्याड बजारमा अहिले पाइने सबै प्याडसँग प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय प्याड उत्पादन गर्ने तयारी गरिएको छ ।
प्याड उत्पादनपछि प्याकेजिङ र किटाणुरहित बनाउनका लागि आवश्यक थप दुई वटा मेसिन खरिदका लागिसमेत तयारी भइरहेको संयोजक बसेलले जानकारी दिए ।