News Griha :: न्यूजगृह
पञ्चेश्वरको डीपीआर टुङ्गो लगाउन नेपाल-भारत संयुक्त विज्ञ समूहको बैठक सुरु 

काठमाडौं— पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिने उद्देश्यका साथ नेपाल र भारतका उच्च अधिकारीको बैठक सुरु भएको छ  आयोजना सुरु भएको २८ वर्ष पुग्दासमेत आयोजनाको डीपीरआर तयार हुन सकेको छैन ।

शुकबारदेखि काठमाडौंमा सुरु भएको बैठकमा नेपालका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारीको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ । यस्तै, भारतीय जल आयोग (सेन्ट्रल वाटर कमिशन) का अध्यक्ष कुशविन्दर बोहोरा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ ।

नेपाल–भारत द्विपक्षीय आयोजनाको रूपमा चर्चा कमाएको ६ हजार ४ सय मेगावाट क्षमताको आयोजनाको डीपीआर नै तयार नभएपछि काम सुरु हुने नै भएन । नेपाल–भारत दुवैले संयुक्त डीपीआर तयार त पारेका छन्, तर, दुवै पक्षमा आयोजनालाई लिएर प्रशस्त असमझदारी कायमै छ ।

नेपाल-भारत संयुक्त विज्ञ समूहले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको समग्र पक्षका बारेमा छलफल गर्ने बताइएको छ । सो परियोजनको डीपीआर भारतीय कम्पनी वापकोसले तयार पारेको छ । गत साउन ५ र ६ गते भारतको राजधानी नयाँ दिल्लीमा भएको बैठकपछि भएको प्रगतिलगायत विषयमा विज्ञ समूहको बैठकमा छलफल हुने बताइएको छ ।

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा तीन महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआरलाई अन्तिम रूप दिने सहमति भएको थियो । प्रधानमन्त्री दाहालले पञ्चेश्वर आयोजनालाई शिघ्र कार्यान्वयनमा लैजान जोड दिँदै आएका छन् । प्रधानमन्त्रीको भारत भ्रमण लगत्तै गत असार २१ र २२ गते पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको गभर्निङ बडीको बैठक कास्कीको पोखरामा आयोजना गरिएको थियो ।

सोही बैठकले डीपीआर टुङ्गो लगाउनका लागि दुवै देशका प्राविधिक सम्मिलित विज्ञ समूहको म्याद थप गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग बिहीबार आयोगका सचिवलगायतका अधिकारीले सोही विषयमा आवश्यक छलफल गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  २१:४७
Weather Update