चितवन— अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गरेका छन् । चितवनमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले अर्थतन्त्र सुधारको बाटो रहेकाले नआत्तिन आग्रह गरे ।
महतले भने, 'अब आर्थिक सङ्कटको अन्त्य हुने आशाका किरण देखा पर्दैछन् । मुलुकमा रहेको आर्थिक सङ्कट धेरै समय रहँदैन ।' आर्थिक सङ्कटको अन्त्य गर्न सरकारले नीतिगत योजना बनाएको उल्लेख गर्दै उनले भने, प्राथमिकताका आधारमा लगानी गर्ने, जग्गाको कारोबार बढाउन प्रक्रियागत सुधार गर्ने र व्यवसायीलाई लगानीको वातावरण बनाउन सरकार लागि परेको छ ।'
महतले अघिल्लो सरकारको जथाभावी खर्च गर्ने प्रवृत्तिका कारण अर्थतन्त्रमा समस्या आएको र यसलाई नियन्त्रण गर्न सरकार लागि परेको बताए । उनले भने, 'व्यक्तिले जथाभावी खर्च नगर्ने, व्यवसायीले मनलाग्दी तरिकाले लगानी नगर्ने र सरकारले प्राथमिकताको आधारमा लगानी गर्ने हो भने अहिलेको सङ्कट टर्छ ।'
अर्थमन्त्री महतले सामाजिक सञ्जालमार्फत नेपालको अर्थतन्त्रको विषयमा नियोजितरूपमा गलत प्रचार गरिएको गुनासो गरे । उनले भने, 'गतल प्रचारका कारण अर्थतन्त्रको विषयमा निराशा छाएको छ, यही कारणले देश जटिलतातर्फ धकेलिएको हो ।' उनले पूँजी चलायमान नहुँदा पनि समस्या सृजना भएको बताए ।