News Griha :: न्यूजगृह
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने श्रेष्ठलाई थुनामा पठाउन आदेश

काठमाडौं— जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेमध्येका सयुज श्रेष्ठलाई मुद्दाको टुंगो नलागुन्जेल थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासको एकल इजलासले श्रेष्ठको धरौटी अस्वीकार गरी उनलाई थुनामै पठाउन आदेश गरेको हो । श्रेष्ठ यसअघि नै साधारण तारेखमा छुटेका थिए । उच्च अदालतले उनलाई ५ लाख धरौटी बुझाउन र अन्तरिम क्षतिपूर्ति दिन आदेश दिएको थियो ।

धरौटी नबुझाई फरार रहेका उनलाई अदालतले थुनामा पठाउन आदेश दिएको हो । थुनामा जानुपर्ने भएपछि उनी धरौटी बुझाउन तयार भएका थिए, तर अदालतले अस्वीकार गरेको हो ।

२०७७ असोजमा किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा परिसरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएको थियो । नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय क्याम्पस इकाइका तत्कालीन सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावलको नेतृत्वको समूहले आफूलाई आक्रमण गरेको उपप्राध्यापक चलाउनेले बताउँदै आएका छन् ।

घटनामा उनीहरूसहित दीपकराज ओझा, रूपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगर लगायत संलग्न भएको आरोप थियो । उनीहरूमाथिको मुद्दा जिल्ला अदालतमा विचाराधीन नै छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १९:३६
Weather Update