News Griha :: न्यूजगृह
'गुन्डा नाइके' रिगलको कैद मिनाहा प्रकरणमा सर्वोच्चले माग्यो राष्ट्रपतिको निर्णय

काठमाडौं— सर्वोच्च अदालतले ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने राष्ट्रपति कार्यालयको निर्णय झिकाउन आदेश दिएको छ । 

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले असोज ३ मा रिगलको कैद मिनाहाको सम्बन्धमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको निर्णयसहितको सम्पूर्ण सक्कल असोज २४ गतेभित्र पेश गर्न आदेश दिएको छ ।

आदेशमा भनिएको छ, 'रिगल ढकालको हकमा मिति २०८०/६/३ मा राष्ट्रपतिद्धारा माफी मिनाहा सम्बन्धमा भएको निर्णयसहितको सम्पूर्ण मिसिल जो जुन निकायमा रहेको छ, सो निकायबाट महान्यायाधिवक्ता कार्यालयमार्फत मिति २०८०/०६/२४ भित्र झिकाउनु ।'

रिगल विवादलाई छिटोछरितो रूपमा  निरुपण गर्नुपर्ने देखिएकाले पूर्ण सुनुवाइका लागि यही असोज २५ गते पेशी तोकी अग्राधिकार दिई सुनुवाइको व्यवस्था गर्ने र आकस्मिकरूपमा बिदा परेमा त्यसको भोलिपल्ट सुनुवाइको व्यवस्था गर्न आदेशमा भनिएको छ ।

अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेस गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्नसमेत आदेशमा भनिएको छ ।

संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट रिगलको कैद मिनाहा भएको थियो । रिगलले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिटमा बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सबै मिसिल झिकाउन आदेश दिएको हो ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १९:४३
Weather Update