काठमाडौं— नेपाल वायुसेवा निगमले निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ । बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी नेपाल वायुसेवा निगम र चार निजी क्षेत्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यो सम्झौताले वायुसेवा निगमको विकास, पुनःउत्थान, व्यवसाय वृद्धि र पर्यटन क्षेत्रको विकासमा सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा राखिएको छ ।
नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले हस्ताक्षर गरी पत्र आदानप्रदान गरेका थिए । निगमले चारवटा निजी क्षेत्रसँग सहकार्य गर्न लागेको हो ।
कार्यक्रममा निगमका अध्यक्ष अधिकारीले निजी क्षेत्रसँग सहकार्य गर्ने सम्झौतासँगै निगमको सुधारको कार्य सुरु भएको बताए ।
उनले नेपालमा पर्यटक बढाउन सरकारले लागू गरेको विभेदकारी भाडादरलाई हटाउनुपर्नेमा जोड दिँदै निजी र सरकारी दुवै क्षेत्रले पर्यटकका लागि समान भाडादर कायम गर्नुपर्ने बताए । पर्यटक बढाउन नेपाल एअरलाइन्ससँग सबै पक्षले हातेमालो गर्नुपर्नेमा उनले जोड दिए ।