चिकित्सकको सुरक्षाबारे के भन्छन् प्रधानमन्त्री ?

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको उपचारमा सक्रिय स्वास्थ्यकर्मीको पेसागत सुरक्षा, हित र वृत्तिविकासमा सरकार सचेत र गम्भीर रहेको बताएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौँथो दीक्षान्त समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले बिरामीको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणलाई आफूले गम्भीर रूपमा लिएको बताए ।
‘यसबारे सरकारले स्वास्थ्यकर्मीसँग संवाद गरी आवश्यक कानुनी प्रबन्ध गर्ने सहमति र सोअनुरूपको गृहकार्य गरिसकेको छ’, उनले भने,‘स्वास्थ्यजस्तो अतिसंवेदनशील क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ छ ।’
प्रधानमन्त्री दाहालले पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन चिकित्सकलाई आह्वान गरे ।
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८० १६:५९