
रौतहट— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी जेलसजायकै क्रममा आममाफी पाएर रिहा भएका रिगल भनिने योगराज ढकालका बारेमा आफूहरुलाई कुनै जानकारी नदिइ निर्णय गरेको बताएका छन् ।
‘पछिल्लो घटनाबारे हामीलाई कुनै जानकारी छैन । मन्त्रिपरिषद्ले निर्णय गर्नुअघि हामीलाई कसैले भनेका पनि छैनन् । आममाफीको निर्णयले सरकारको धेरै आलोचना भयो,‘उनले भने,‘यस विषयमा के भएको हो म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कुरा राख्छु । अपराध गर्नेलाई उन्मुक्ति दिनु भएन ।’
मेची–महाकाली समाजवादी जागरण अभियानको क्रममा रौतहटको चन्द्रनिगाहपुर पुगेका पूर्वप्रधानमन्त्री नेपालले बिहीबार प्रेस सेन्टर रौतहटद्वा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कानुनमै नभएको कुरा प्रयोग गरि किन उन्मुक्ति दिइयो भन्ने विषयमा प्रधानमन्त्री दाहालसमक्ष कुरा राख्ने बताए ।
मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको कसुरमा जेल परेका रिगलको १२ वर्ष कैद सरकारले संविधान दिवसका अवसरमा माफी दिएको थियो ।













