News Griha :: न्यूजगृह
चाडबाड नजिकिएसँगै तातोपानी नाकामा बढ्यो चहलपहल

सिन्धुपाल्चोक— दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ ।

जाडोका लागि तयारी कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका सामान, ऊनका सामग्री, विद्युतीय सामान चीनका विभिन्न क्षेत्रबाट नेपाली व्यापारीले ल्याउन थालेका छन् ।

तातोपानी नाकाबाट दसैँको सामान बोकेर दैनिक ३० कन्टेरको जाँचपास भई काठमाडौं भित्रने गरेको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा एक करोड ६२ लाख राजस्व संकलन भएको जनाइएको छ । आयातनिर्यात सहज भएमा सरकारले राखेको लक्ष्यअनुरूप राजस्व संकलन हुने केसीको भनाइ छ ।

ट्रान्स सिल्क ग्रुपका संयोजक विजय शेर्पाका अनुसार जाडोका कपडा, जुत्ताचप्पल, तिहारका सामान, विद्युतीय सामग्री चीनबाट आइरहेका छन् ।

आयात भएका सामानमध्ये ५० प्रतिशत स्याउ रहेको शेर्पा बताउनुहुन्छ । नाकाबाट मानव आवतजावत खुला हुँदा तातोपानी क्षेत्रका होटल, लजसमेत भरिभराउ हुन थालेका छन् ।

वि.सं.२०७२ को भूकम्प र कोरोना महामारीले थला परेको नाका आठ वर्षपछि सर्वसाधारणका लागिसमेत खुला भएपछि यस वर्ष भने नाकाबाट दसैँको सामान आपूर्ति हुन थालेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठले बताए ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १५:४९
Weather Update