News Griha :: न्यूजगृह
रेष्टुरेन्ट र हवाइजहाज चलाउने एउटै ऐन हुँदा समस्या : मन्त्री किराती

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमा रेष्टुरेन्ट चलाउने ऐन र हवाइजहाज चलाउने ऐन एउटै भएको बताएका छन् । 

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बिहीबार भएको छलफलमा उनले हवाइ कम्पनी वा हवाइ क्षेत्रमा धेरै संकट भएको उल्लेख गरे ।

चिनियाँ जहाजको सन्दर्भमा उनले त्यसलाई चलाउने प्रक्षिणयुक्त पाइलट नभएको साथै त्यसका पार्टपूर्जा नपाइने समस्याका कारण बन्द गरिएको बताए ।

उनले भने, ‘त्यसै पनि हवाइ क्षेत्रमा संकट नै छ, रेष्टुरेन्ट चलाउने ऐन र हवाइजहाज चलाउने ऐन एउटै छ नेपालमा, त्यसमा चिनियाँ जहाजको सन्दर्भमा हामी आएर बन्द गरेको होइन, अगाडिको सरकारले नै पारित गर्दै नउडाउनु भनेर बन्द गरिएको हो । चिनियाँ जहाजका लागि प्रक्षिणयुक्त पाइलट नभएको, यसको पार्टहरु नभएको यस्ता समस्याका कारण बन्द गरिएको हो ।’

उनले चिनियाँ जहाजका सम्पूर्ण सामान नपाउने हुँदा घाटा लाग्ने भन्दै यसको निकासका लागि पटक—पटक समिति गठन हुँदा पनि समस्या समाधान नभएको बताए ।

उनले भने, ‘चिनियाँ जहाजको सम्पूर्ण सामान नपाउने भएको र धेरै घाटा लाग्ने कारणले गर्दा यसको निकासका लागि पटक—पटक समिति गठन भएको छ । हामीले लिजको लागि पनि पहल गरेका थियौं कोही आउँदैनन् ।’
 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १४:५२
Weather Update