News Griha :: न्यूजगृह
दोलखा सुन प्रकरण :  काठमाडौंबाट थप तीन जना पक्राउ

काठमाडौं— दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

फक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–५ घर भई हाल टोखा–७ बस्ने अन्दाजी ६२ वर्षीय सनत प्रधान, सिन्धुपाल्चोक सानोसिरुबरी–७ घर भई हाल टोखा–६ सरस्वतीखेल बस्ने (गोङ्गबुस्थित नमोबुद्ध गेष्ट हाउस सञ्चालक) ४३ वर्षीय लालबहादुर तामाङ र ४३ वर्षीय चिनियाँ नागरिक गेङ्रु रहेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

उनका अनुसार प्रधान र तामाङलाई काठमाडौं टोखाबाट तथा गेङ्रुलाई गएराति स्वयम्भूबाट पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई आजै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको सीआईबीले जनाएको छ ।

११ केजी सुन प्रकरणमा दोलखा प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो । काठमाडौंबाट पक्राउ परेका तीनसहित यो प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १९:०२
Weather Update