
रामेछाप— जिल्ला प्रहरी कार्यालय दोलखाले ओढारमा लुकाएर सुन राख्ने सात जनालाई प्रकाउ गरी सार्वजनिक गरेको छ । विभिन्न मितिमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।
दोलखा प्रहरीले आइतबार लामाबगरबाट थप चार किलो सुन बरामद गरेको छ । दोलखाको बिगु गाउँपालिका–३ लामाबगरबाट प्रहरीले आइतबार दिउँसो सो परिमाणमा सुन बरामद गरेको हो ।
लामाबगरको बस्ती भन्दा पारी ओढारमा लुकाइ राखेको अवस्थामा सुन फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी दीपक खड्काले जानकारी दिए ।
चीनबाट दोलखाको लामाबगर हुँदै ठूलो परिमाणमा सुन तस्करी भएको आशंकामा प्रहरीले खोजतलास गर्दा लुकाइ राखेको सुन फेला परेको हो ।
दोलखा प्रहरी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले असोज १० गतेदेखि लामाबगर क्षेत्रमा खोज अनुसन्धान जारी राखेको छ । सो क्रममा हालसम्म ११ किलो सुन फेला परेको छ ।
यसअघि असोज १० गते प्रहरीले तीन किलो सुन फेला पारेको थियो भने ११ गते थप चार किलो सुन फेला पारेको थियो ।
प्रहरीले दोलखाको बिगु गाउँपालिका–३ जामुनेस्थित सीता तामाङको घरमा कोठा भाडा लिएर बस्ने बिगु गाउँपालिका–१ घर भएका २८ वर्षीय केशर तामाङको कोठाबाट १० गते चार किलो र १२ गते पुनः तीन किलो सुन बरामद गरेको थियो ।
घटनमा संलग्न स्थानीय सात जनालाई प्रहरीले हालसम्म पक्राउ गरेको छ । सुन तस्करीको नाइके भने अझै पक्राउ परेका छैनन् । प्रहरीले अहिले पनि लामाबगरमा नै रहेर अनुसन्धान गरिरहेको डीएसपी खड्काले बताए ।