रामेछाप— मन्थली विमानस्थलमा बिहानैदेखि विदेशी पर्यटक खचाखच हुन्छन् । बिहान ६ बजेदेखि जहाज उड्छन् । दिउँसो सोलुखुम्बुको मौसम खराब हुने भएकाले बिहान सबेरैदेखि मध्य दिनसम्म जहाज उड्छन् ।
रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला विमानस्थलमा अहिले पर्यटकीय उडान भइरहेका छन् । शरद ऋतुको उडानअन्तर्गत असोज पहिलो सातादेखि मंसिर १५ सम्म मन्थलीबाट लुक्ला उडान हुने गरेको छ । यो सिजनमा दैनिक ३ सयदेखि ४ सयसम्म सगरमाथा क्षेत्र घुम्न जाने विदेशी पर्यटक मन्थलीबाट सोलुखुम्बु आउजाउ गर्छन् ।
नागरिक उड्डयन प्राधिकरणले शरद ऋतुको असोज पहिलो सातादेखि मंसिर १५ गतेसम्म र वसन्त ऋतुको चैतदेखि जेठसम्म सोलुखुम्बु जाने पर्यटकको भीड हुने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जाम कम गर्न मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाको उडान गर्ने गरेको छ । यसले गर्दा मन्थली विमानस्थल व्यस्त हुन्छ । विमानस्थल क्षेत्र विदेशी पर्यटकले भरिन्छ ।
काठमाडौंबाट विभिन्न ट्राभल एजेन्सीले पर्यटकलाई काठमाडौंबाट मन्थली विमानस्थल पुर्याएर सोलुखुम्बु उडाउने र सोलुखुम्बुबाट मन्थली विमानस्थल हुँदै काठमाडौंसम्म ल्याउने गर्दछन् ।
मन्थली विमानस्थलबाट सोलुखुम्बुका लागि सीता, तारा र समिट एअरले उडान भरिरहेका छन् । मन्थली विमानस्थल क्षेत्र बिहानैदेखि विदेशी पर्यटकले खचाखच भरिए पनि सँगै जोडिएको मन्थली बजार भने सुनसान छ । बजारमा न पर्यटक देखिन्छन्, न होटेलहरू नै बुक भएका छन् ।
पर्यटकहरू मन्थली ल्याउने ट्राभल एजेन्सीले मन्थली बजारमा पर्यटकलाई छिर्नै दिँदैनन् । उडान तालिका लिएर एजेन्सीले काठमाडौं, धुलिखेल, सिन्धुलीको मूलकोट लगायतका स्थानमा ल्याएर पर्यटक राखी सोझै मन्थली विमानस्थल पुर्याएर सोलु उडाउने गर्छन् ।
विमानस्थल सञ्चालनमा आएर दैनिक सयौँ पर्यटक आउजाउ गर्दा पनि त्यसको लाभ मन्थलीका व्यवसायीले लिन पाएका छैनन् । रामेछाप होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष शेखरमान श्रेष्ठ मन्थलीमा दैनिक एक हजार जनासम्म पर्यटकलाई व्यवस्थित बसोबास र खानाको सेवा दिन सकिने बताउँछन् । तर ट्राभल एजेन्सीले मन्थलीमा बस्ने र खाने ठाउँ नै छैन भनेर प्रचार गर्ने गरेको उनको भनाइ छ ।
यही कारणले गर्दा बिहान जहाज चढ्नुपर्ने पर्यटक निन्द्रा माया मारेर रातारात काठमाडौं र धुलिखेलबाट हिँड्नु परेको छ । पर्यटकको बसाइ हुन नपाएपछि मन्थलीका व्यवसायीको भने व्यापार शून्यप्रायः बनेको छ ।