News Griha :: न्यूजगृह
वीरगन्जको बालसुधार गृहबाट फरार २ बालकैदी पक्राउ

वीरगन्ज— वीरगन्जस्थित बालसुधार गृहबाट फरार भएका दुई बाल कैदी लाई प्रहरीले पक्राउ गरेको छ ।

बालसुधार गृहको छतबाट गत शुक्रबार बिहान हामफालेर फरार भएका सप्तरीका पाण्डव यादव र सर्लाहीका अमरकान्त ठाकुरलाई ४८ घण्टापछि आइतबार छुट्टाछुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई सर्लाहीस्थित सीमा नाकाबाट शनिबार राति र यादवलाई सिरहास्थित सीमा नाकाबाट आइतबार पक्राउ गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा ठाकुरलाई र जबर्जस्ती करणी मुद्दामा यादवलाई अदालतले दोषी ठहर गर्दै आचरण सुधारका लागि बाल सुधारमा पठाएको थियो ।

फरार भएपछि दुवै बाल कैदी वीरगन्जको मुख्य भन्सार नाका शङ्कराचार्य गेट अगाडिबाट भारतको रक्सौलतर्फ गएको दृश्य नाकामा जडान गरिएको सीसीटीभीमा रेकर्ड भएको थियो । बालसुधार गृहमा ६० जनाको क्षमता भएकामा हाल दोब्बरभन्दा बढी एक सय २६ जना बालक तथा किशोरहरूलाई कोचेर राखिएको छ ।

जसका कारण गृहमा रहेका बालक तथा किशोरहरूमा स्वास्थ्य समस्यासँगै गृहलाई व्यवस्थापनमा समेत कठिनाइ भइरहेको बाल सुधार गृहका प्रमुख टीकाकृष्ण काफ्लेले बताए । 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०४:२५
Weather Update