News Griha :: न्यूजगृह
पाल्पाका किसानले बजार नपाएपछि फ्याँके भिन्डी 

पाल्पा— व्यावसायिक उत्पादन गरिएको भिन्डी (रामतोरियाँ) ले बजार नपाउँदा किसान चिन्तित बनेका छन् ।  घरायसी प्रयोजनका लागि मात्रै भिन्डी लगाउँदै आएका किसानले यसपटक व्यावसायिकरूपमा खेती गरेका थिए ।

पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकमा करिब १२ रोपनी जग्गा भाडामा लिएर स्थानीय गङ्गाप्रसाद बस्याल, राधिका बस्याल र सिर्जना आचार्यले सामूहिकरूपमा भिन्डीखेती गरेका थिए । अहिले उत्पादित भिन्डीले बजार नपाएको गङ्गाप्रसादले बताए ।

‘रामपुरको बजारलाई मध्यनजर गर्दै व्यावसायिक रामतोरियाँ खेती सामूहिकरूपमा सुरु गरियो, उत्पादन असाध्यै राम्रो छ, तर बिक्रीका लागि बजार छैन, बजार अभावमा  टिपेर त्यसै फाल्नुपरेको छ’, उनले भने । हाल दैनिक न्यूनतम ५० किलोदेखि बढीमा एक सय ५० किलोसम्म भिन्डी उत्पादन भइरहेको उनले बताए ।

गत जेठदेखि उत्पादन दिन थालेको भिन्डी हालसम्म ७५ क्विन्टलभन्दा बढी उत्पादन भइसकेको छ । यस क्षेत्रमा उत्पादन भएको भिन्डीको बजार मूल्य सरदरमा न्यूनतम प्रतिकिलो ४० देखि बढीमा एक सयसम्म रहेको छ ।

उत्पादन भएको भिन्डीमध्ये सात क्विन्टल भिन्डी रामपुर बजारमा खपत नभएको किसान बताउँछन् । बोटमा अझै पनि उत्पादन दिइरहेको छ । दैनिक भिन्डी टिपेर बाहिरका बजार खोज्दै पठाउनुपर्दा किसानलाई खेती गरेर लागत उठाउन समस्या परिरहेको छ ।

अहिलेसम्म भिन्डी बिक्रीबाट करिब तीन लाखसम्मको आम्दानी भएको राधिकाले बताइन् । बजार अभावमा दुई क्विन्टलभन्दा बढी भिन्डी घरमै कुहाएर फाल्न बाध्य भएको उनले गुनासो गरिन् ।

बजारीकरणको झन्झटले किसानले भरसक यसको व्यावसायिक खेती गर्न मन पराउँदैनन् । टिपेर धेरै दिनसम्म राख्न नमिल्ने भएकाले यसका लागि फल टिप्नेबित्तिकै बजार चाहिन्छ ।

रामपुरको बजारमा बुटवल, तराईलगायतका बाहिरका बजारबाट कृषि उपज भित्रिने गरेकाले व्यापारीले स्थानीय उत्पादनलाई महत्व दिँदैनन् ।

विषादी प्रयोग गरिएका सस्ता कृषि उपज खरिद गरी बिक्री गर्ने आदत परेका व्यापारीले स्थानीय उत्पादन भरसक खरिद गर्न खोज्दैनन् । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १०:०६
Weather Update