News Griha :: न्यूजगृह
चिनियाँ लगानी भित्र्याउन पहल गरेका छौं : अध्यक्ष ढकाल

काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको बताएका छन् ।

चीनको छन्दुमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी बढाउनुका साथै अन्य आर्थिक सम्भावनाको खोजी गरिएको बताए ।

भ्रमणको सुरुमै चीनको राजधानी बेइजिङमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा चिनियाँ व्यवसायीहरूको संस्था सीसीपीआइटी सम्मिलित ‘बिजनेस समिट’ सम्पन्न भएको थियो ।

उक्त समिटमा चिनियाँ लगानीकर्तासहित नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघलगायत नेपालका निजी क्षेत्रका प्रतिनिधिहरू पनि सम्मिलित भएका थिए ।

समिटमा नेपाल र चीनका प्रतिष्ठित व्यवसायीहरूको सहभागिता हुनु र चीनसँग संयुक्त लगानीका लागि केही सम्झौता हुनुलाई अध्यक्ष ढकालले नेपालमा चिनियाँ लगानी भित्र्याउन गरिएको प्रयासका रूपमा लिएका छन् ।

उनले भने,‘निकै लामो समयदेखि हामी नेपाल र चीनका उद्योगी व्यवसायीहरू एक ठाउँमा बसेर द्विपक्षीय व्यापार र लगानीका विषयमा कुराकानी गर्न पाएका थिएनौँ । यसपटक हामीले दुई देशका उद्योगी व्यवसायी एवम् लगानीकर्ताको सम्मेलन नै गरेका छौँ र नेपालमा चिनियाँ लगानी भित्र्याउनका लागि पहल गरेका छौं ।’

भ्रमणका क्रममा विद्युत् प्रसारणलाइन निर्माणको सहमतिले पनि नेपालको उद्योग व्यवसायका साथै यस क्षेत्रमा हुने लगानीमा सकारात्मक प्रभाव पार्ने ढकालले बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ११:४३
Weather Update