News Griha :: न्यूजगृह
कृषि ज्ञान केन्द्र वीरगन्जमा कर्मचारी नहुँदा सेवा प्रभावित

वीरगन्ज— लामो समयदेखि दरबन्दीअनुसारको कर्मचारी पदपूर्ति नहुँदा कृषि ज्ञान केन्द्र वीरगन्ज पर्साको कामकाज प्रभावित हुँदै आएको छ ।  कर्मचारी नहुदाँ सेवाग्राहीलाई सेवा उपलब्ध गराउन समस्या हुँदै आएको कार्यालय प्रमुख मुनिलाल कुशवाहाले जानकारी दिए ।

प्रदेश सरकार मातहत रहेको सो कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी भए पनि हाल दुई जना प्राविधिक जनशक्तिसहित चार जना कर्मचारी मात्र कार्यरत छन् ।

कार्यालयमा एक जना वरिष्ठ कृषि विकास अधिकृत, एक जना अर्थविज्ञ, एक जना बाली विकास अधिकृत, एक जना बाली संरक्षण अधिकृत, एक जना कृषि प्रसार अधिकृत र एक जना बागवानी विकास अधिकृतको दरबन्दी भए पनि हाल वरिष्ठ कृषि विकास अधिकृतको रुपमा कार्यालय प्रमुख कुशवाहा मात्र कार्यरत रहेका छन् ।

यस्तै सो कार्यालयमा प्राविधिक सहायक तीन,लेखापाल एक, खरिदार एक, कार्यालय सहयोगी तीन र हलुका सवारी चालक एक जनाको दरबन्दी रहेकोमा स्थायी एक जना र करारमा एक जना गरी दुई जना कार्यालय सहयोगी मात्र कार्यरत रहेको कार्यालय प्रमुख कुशवाहाले बताए ।

एक जना हलुका सवारी चालकलाई करारमा राखिएको छ । कार्यालयमा तत्काल बाली संरक्षण, योजना, बागवानी विकास अधिकृतको पदपूर्ति आवश्यक भएको उनले बताए । ती पदको कर्मचारी नहुँदा सेवाग्राहीलाई सेवा प्रदान गर्न र आवश्यक कृषिसम्बन्धी परामर्श दिन समस्या भएको कार्यालय प्रमुख कुशवाहाको भनाइ छ ।

जिल्लाका कतिपय क्षेत्रमा धानबालीमा गवारो किराको प्रकोप देखिए पनि कर्मचारी अभावका कारणसम्बन्धी क्षेत्रमा पुगेर आवश्यक परामर्श सेवा पुर्‍याउन कठिनाइ भएको उनले बताए ।

यस्तै कार्यालयमा लेखापाल नहुँदा आर्थिक कारोबार गर्न समस्या भइरहेको र समय समयमा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट लेखापाल बोलाएर काम गर्ने गरेको उनको गुनासो छ ।

कार्यालयमा देखिएको जनशक्ति अभावबारे प्रदेश मन्त्रालय तथा कृषि निर्देशनालयमा पटक–पटक जानकारी गराएर कर्मचारी माग गरे पनि हालसम्म पदपूर्ति नभएको उनले बताए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ११:०९
Weather Update