News Griha :: न्यूजगृह
‘साझा न्यूनतम कार्यक्रम’ काे कार्यक्रममाथि नै एमालेकाे प्रश्न

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारको साझा न्यूनतम कार्यक्रम संसद् अधिवेशन चालु रहेका बेला सदनबाहिर प्रस्तुत गर्ने कार्यले गम्भीर प्रश्न खडा गरेको प्रतिक्रिया दिएको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलगायत सरकार संसद्प्रति उत्तरदायी बन्ने सुन्दर लोकतान्त्रिक पक्षलाई बेवास्ता गर्दै सदन चलिरहेकै समयमा सदनबाहिर त्यस्ता कार्यक्रम प्रस्तुत गरिनु गम्भीर चिन्ताको विषय भएको टिप्पणी गरे ।

‘सरकारले के गर्‍यो भन्नेबारे प्रतिनिधिमूलक संस्था संसद्ले थाहा पाउनुपर्छ, सदन चलिरहेको छ, सरकारले बिजनेश दिन सकेको छैन, संसद्लाई बेवास्ता गरिएको छ, साझा कार्यक्रम संसद्ले थाहा पाउन पर्ने होइन ? यस विषयमा सरकार चुकेको छ,’ उपनेता नेम्वाङले भने ।

सरकारले न्यूनमत साझा कार्यक्रम प्रस्तुत गरेको विषय सञ्चारमाध्यमबाट थाहा पाएको बताउँदै नेम्वाङले वि.सं. २०६२/६३ को आन्दोलनपछि जनताले जनताका लागि पूर्णअधिकार सम्पन्न तुल्याउन भइरहेको संसदीय अभ्यासलाई छलेर गरिने यस्ता कार्यले लोकतन्त्रलाई बलियो तुल्याउन नसक्ने विचार प्रकट गरे ।

govnepal1680788370.JPG
सिंहदरबारमा बिहीबार सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक समारोहमा सत्तारुढ दलका शीर्ष नेताहरू । तस्बिर : प्रदीपराज वन्त/रासस

 

‘सरकारले सदनको अबको पहिलो बैठकमै सदन बाहिर साझा कार्यक्रम प्रस्तुत गर्नु पर्नाको कारण र औचित्यबारे जानकारी गराउनुपर्छ, हामी त्यो माग गर्छौँ,’ नेम्वाङ भन्छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजित विशेष समारोहलाई सम्बोधन संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका थिए ।

 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  २१:२५
Weather Update