News Griha :: न्यूजगृह
चितवनमा दूध बजारीकरणमा समस्या

चितवन— दसैँ, तिहार, छठ नजिकिँदै गर्दा दुग्धजन्य परिकारको खपत बढाउन आग्रह गरिएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघले चाडपर्वमा दुग्धजन्य उत्पादन, दही, बटर, घ्यू, पनिरजस्ता वस्तुको खपत गर्न आग्रह गरेको हो ।

संघका अध्यक्ष किशोर बगालेले चाडपर्वमा दुग्धजन्य उत्पादनको खपत गरी दूधको बजारीकरणलाई सहयोग गर्न अनुरोध गरे । अहिले दूधको बजारीकरणमा समस्या देखिन थालेको जनाउँदै उनले सबैको भान्छामा नेपाली दुग्धजन्य उत्पादन प्रयोग भएमा अहिलेको समस्या समाधान हुने बताए ।

उनले भने,‘अहिले दूधको बजारीकरणमा समस्या देखिएको छ । यसलाई निराकरण गर्न आम नेपालीको भान्सामा नेपाली दुग्धजन्य उत्पादनको प्रयोग वढाउन जरुरी रहेको छ ।’

जिल्लामा अहिले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने भए पनि जिल्ला बाहिर एक लाख ३५ हजार लिटर दूध मात्रै जाने गरेको छ । बाहिरी जिल्ला जाने दूधसमेत कम्पनीहरुले उठाउन कठिन मान्दा समस्या बढ्दै जान थालेको उनले जानकारी दिए ।

संघका उपाध्यक्ष रामेश्वर गौलीलले जिल्लाबाट बाहिर जाने दूध कम्पनीले उठाउन गाह्रो मान्ने गरेको जनाउँदै विगत तीन किस्तादेखिको दूधको पैसासमेत पाउन नसकेको बताए । उनले भने,‘डीडीसीले गत साउनयता किसानलाई पैसा दिन सकेको छैन । अधिकांश किसानले कम्तीमा तीन किस्ताको रकम पाउन बाँकी छ ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०९:१०
Weather Update