News Griha :: न्यूजगृह
कर्मचारीले पाएनन् पुसदेखि तलब 

मकवानपुर— भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब पाएका छैनन् । कार्यालयमा प्राविधिक प्रशासनिकसहित स्थायी र करारका गरी २० कर्मचारी कार्यरत रहेका छन् ।

कर्मचारीले गत पुसदेखि हालसम्म तलब सुविधा नपाएको गुनासो गरेका छन् । बाग्मती प्रदेशको लेखा नियन्त्रक कार्यालयले सो कार्यालयमा लेखापाल तोकेर नपठाउँदा कर्मचारीले तलब नपाएको कार्यालय प्रमुख ब्रजकिशोर ठाकुरले बताए ।

साथै लेखापाल नहुँदा कर्मचारीको तलब निकासा, भेटेरेनरी औषधि खरिद, आर्थिकरूपले कार्यालय सञ्चालन तथा व्यवस्थापन, इन्धन खरिद र बर्डफ्लुबाट पीडित किसानले पाउनुपर्ने क्षतिपूर्तिसमेतमा बाधा पुगेको सो कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख डा.ठाकुरले लेखापाल नभएकाले आर्थिक कारोबार गर्न समस्या भएको भन्दै प्रदेश लेखा नियन्त्रकको कार्यालयलाई पत्र लेखी पठाएको बताए ।

मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले लेखापालको अभावमा समस्या आएको र त्यसका लागि पहल भइरहको जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  २०:१४
Weather Update