काठमाडौं— प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नजिकिँदै गएको चाडबाडलाई लक्षित गरी बजारमा हुनसक्ने मूल्य वृद्धि र कालोबजारीको अनुगमनलाई प्रभावकारी तुल्याउन निर्देशन दिएको छ ।
समितिको आजको बैठकले बजार अनुगमनलाई प्रभावकारीरूपमा गरी सोको प्रतिवेदन समितिमा उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमितिको कार्यावधि आगामी पुस मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।
उत्पादन भएको उखुको विवरणका आधारमा चालु आर्थिक वर्षका लागि विनियोजन अनुदान उखु किसानलाई उपलब्ध गराउन अपुग हुने देखिएकाले कृषि मन्त्रालयको प्रस्तावअनुरुप रकमको सूनिश्चिता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
सरकारले प्रतिक्विन्टल ७० का हिसाबले उखु किसानलाई अनुदान उपलब्ध गराउँदै आएको छ । अघिल्लो आर्थिक वर्षको करिब एक अर्ब बराबरको रकमको भुक्तानी भने किसानले प्राप्त गरिनसकेको अवस्था रहेको सो अवसरमा जानकारी दिइयो ।
बैठकले उखुखेतीको प्रवर्द्धनका लागि सरकारबाट किसानलाई उपलब्ध गराउनुपर्ने अघिल्लो आर्थिक वर्षको रकम तत्काल भुक्तानीका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देश गरेको छ ।
समितिले ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनमा आवश्यक पर्ने विधेयक संघीय संसद्को चालु अधिवेशनमा दर्ता गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।
यसअघि बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकको विकास र समृद्धिका कार्यक्रमलाई न्यायालय र सञ्चार क्षेत्रलगायतले सहयोग पुर्याउनुपर्ने आवश्यकतामा जोड दिए ।
उनले भने,‘तोकिएको मापदण्ड नपुगेका तथा कानुन पालना उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याइनेछ । दलहरूबीच देश र पानी बेचुवाको झगडाले मुलुक विकासमा पछि परेको हो ।’