
काठमाडौं— आन्दोलनरत नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समिति,राहत शिक्षक केन्द्रीय समिति र सरकारबीच सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता जारी छ ।
विभिन्न माग राख्दै यही असोज ३ गतेदेखि आन्दोलन गर्दै आएका उनीहरुलाई सरकारले बिहीबार वार्तामा बोलाएको हो ।
वार्तामा सहभागी एक शिक्षकका अनुसार वार्तामा शिक्षकका विभिन्न मागका विषयमा छलफल भइरहेको छ । उनका अनुसार अहिलेसम्म वार्ता सकारात्मक भएको छ । निष्कर्ष आउन बाँकी छ ।
वार्तामा शिक्षामन्त्री अशोक राईसहित प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र राहत शिक्षकका प्रतिनिधि छन् ।
राहत शिक्षकले ४० हजार दरबन्दीमा हाल राहत अनुदान कोटामा कार्यरत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन दिनुपर्नेलगायत माग राखेकाे छ ।
त्यसैगरी बालविकास शिक्षकले सरकारले तलबको जिम्मेवारी लिनुपर्ने, बालविकास केन्द्र विद्यालय संरचनाभित्र ल्याइनुपर्ने, बालविकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, २० वर्षदेखि कार्यरतलाई स्वतः स्थायी प्रक्रियामा लैजानुपर्ने, बालविकास शिक्षकलाई आधारभूत तह (१–५) शिक्षक सरह तलब हुनुपर्ने, आन्तरिक प्रतिस्पर्धामा फेल हुने विद्यार्थीलाई अनुदानको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।













