रसुवा— मापदण्डविपरीत व्यवसाय गर्ने दक्षिणी रसुवाका दुई व्यवसायीलाई कारबाही गरिएको छ ।
कारबाही पर्नेमा कालिका गाउँपालिका–२ घुम्ती बजारस्थित आरएस एभ्रोभेट तथा तरकारी पसलका सञ्चालक रामशरण न्यौपाने र उत्तरगया गाउँपालिका–५ बेत्रावतीस्थित रिभर भ्यु गेष्ट हाउसका सञ्चालक केदारप्रसाद अधिकारी छन् ।
घुम्ती बजारका न्यौपानेले खाद्य तथा अखाद्य दुवै प्रकारका वस्तु अव्यवस्थित तवरले एकै स्थानमा राखी मापदण्ड विपरीत बिक्री गरेबाप १० हजार र सञ्चालक अधिकारीले गेष्ट हाउसमा मानव स्वास्थ्यलाई असर पर्ने खाद्यवस्तु प्रयोग गरेबापत पाँच हजार जरिवाना गरेको घरेलु उद्योग कार्यालयका प्रमुख बृहस्पति तामाङले बताए ।
पछिल्लो समय बजार अनुगमन समितिले अनुगमनलाइ तीव्र बनाउँदै सचेतना र जरिवाना दुवै एकै साथ अगाडि बढाएको छ ।
दसैँ नजिकिँदै गएको र उपभोक्ता माझ गुणस्तरीय खाद्य सामग्री पुगोस् भन्ने पवित्र उद्देश्यले सरकारी मापदण्डको अधिनमा रही जिल्लका व्यापारिक क्षेत्रको अनुगमन तीव्ररूपमा अगाडि बढाइएको बजार अनुगमन समितिका संयोजक एवम् रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञावलीले जानकारी दिए ।