
तनहुँ— डेंगुको प्रकोप बढ्दै गएपछि तनहुँका विद्यालमा सचेतना अभियान सुरु गरिएको छ ।
तनहुँको सदरमुकाम दमौली अस्पताललगायत जिल्लाका अस्पताल तथा क्लिनिकमा डेंगुका बिरामी बढेपछि व्यास नगरपालिकाले विद्यालय विद्यालयमा स्वास्थ्यकर्मीमार्फत सचेतना प्रदान गर्न थालेको छ ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेले दैनिक रुपमा डेंगुका बिरामी बढेपछि पाँच स्वास्थ्यकर्मी परिचालन गरी विद्यालय विद्यालयमा सचेतना जगाउन थालिएको बताए ।
‘दिनानुदिन डेंगुका बिरामीले अस्पतालमा भरिन थालेको छ, अस्पतालमा जनशक्तिले धान्न नसक्ने अवस्था हुँदै गएकाले तत्कालका लागि हामीले नगर तथा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी अस्पतालमा खटाएका छौँ ।’
नगरपालिकाले एक डाक्टर, दुई ल्याबका कर्मचारी र दुई जनालाई इमर्जेन्सीमा परिचालन गरिएको उनको भनाइ छ ।
उनी भन्छन्,‘डेंगु संक्रमण बढ्दै गएपछि नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मी खटाउनुका साथै बालबालिकालाई सचेत गराउने उद्देश्यले प्रत्येक विद्यालयमा पुगेर सचेतनाका कार्यक्रम फैलाउन अभियान थालिएको छ ।’
बालबालिकालाई सचेत बनाउन सके रोगको संक्रमण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षासहित स्वास्थ्यकर्मी खटाइएको उनले बताए ।
जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीसहित विद्यालयमै पुगेर डेंगसम्बन्धी रोकथाम तथा नियन्त्रण, खोज र नष्ट गर्ने तरिकाका विषयमा विद्यार्थीलाई सचेत गराउने गरिएको उनले बताए ।
स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकर अधिकारीले जिल्लामा हालसम्म एक हजार आठ सयमा डेंगुको संक्रमण भएको जानकारी दिए ।