
तनहुँ— डेंगु संक्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् ।
नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास–१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास–२ की १३ वर्षीया बालिकाको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगत केही समयदेखि दमौलीमा डेंगु संक्रमण बढ्दो अवस्थामा रहेको बताए ।
कुल बिरामी सङ्ख्या एक हजार छ सयमध्ये एक हजार तीन सय ५० बिरामी नगरपालिकाको रहेको जनाइएको छ ।
दमौली अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेपछि नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाउने तयारी गरिएको छ ।
अस्पतालमा जनशक्ति कम भएको जानकारीमा आएपछि नगरपालिकाले एक डाक्टर, दुई जना ल्याबका कर्मचारी र दुई जनालाई इमर्जेन्सीमा परिचालन गर्न लागिएको उनले जानकारी दिए ।
शाखा प्रमुख सोतीले भने,‘अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेको र अस्पतालको जनशक्तिले धान्न नसक्ने अवस्था आएको जानकारी भएपछि नगरपालिकाबाट तत्कालका लागि पाँच जना कर्मचारी खटाउन लागेका छौँ ।’
नगरपालिकाले टोल–टोलमा डेगुसम्बन्धी सचेतनासमेत सुरु गरेको छ । सोतीले डेंगु नियन्त्रण रोकथामका लागि औषधी छर्कनेदेखि स्वास्थ्यसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।
गत भदौ महिनाको अन्तिम सातायता डेंगु संक्रमण फैलिँदै गएपछि स्वास्थ्यकर्मी परिचालन गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको उनले बताए । उनले भने, ‘अहिले प्रत्येक वडा–वडामा स्वास्थ्य सचेतना सञ्चालन भइरहेको छ ।’
स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जिल्लामा डेंगु संक्रमण बढेकाले सतर्कता अपनाउन आग्रह गरे ।