
चितवन— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए ।
उनले भने,‘दिन प्रतिदिन दुःखद् घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधान तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबीच छलफल भइरहेको छ ।’
शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उनले चिकित्सकलाई काममा फर्कन अनुरोधसमेत गरे ।
उनले भने,‘हाम्रो ऐनमा उल्लेख भएका स्वास्थ्यसम्बन्धी सुरक्षाका विषयलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्ने र आगामी दिनमा यस्ता घटना नहुन् भनेर सबै सक्रिय रहने विषयमा छलफल भयो ।’
मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन लागु भएसँगै बन्द भएका शैक्षिक संस्थाहरू छ महिनाभित्र सञ्चालनमा ल्याइने बताए ।
चिकित्सकले सुरक्षा माग गर्दे दुई दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् ।