करिब ६१ किलो सुन तस्करी
सुन तस्करी प्रकरणमा २६ प्रतिवादीको बयान सकियो, भोलिबाट थुनछेक बहस

काठमाडौं— जिल्ला अदालत काठमाडौंमा करिब ६१ किलो सुन तस्करी प्रकरणका आरोपितसँग बयान लिने काम सकिएको छ ।
न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान मंगलबार सकिएको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए । उनका अनुसार मंगलबार ४ जना प्रतिवादीको बयान लिइएको थियो ।
बुधबारबाट थुनछेक बहस सुरु हुने प्रवक्ता दाहालले बताए । थुनछेक बहस सकिएपछि थुनामा पठाउने या धरौटी माग गर्ने भन्नेबारे अदालतले थुनछेक आदेश दिनेछ । सुन प्रकरणमा विदेशी र स्वदेशी गरी २६ जना हिरासतमा छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानसहितको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका २६ सहित फरार ३ गरी २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध करिब ३ अर्बभन्दा धेरै बिगोसमेत माग दाबी गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८० १९:४६