News Griha :: न्यूजगृह
उपभोक्ताको सुरक्षालाई प्राथमिकतामा राखेर ग्यास बजारमा ल्याउन आपूर्तिमन्त्री रिजालको आग्रह

काठमाडौं— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सबै ग्यास उद्योगलाई उपभोक्ताको सुरक्षालाई प्राथमिकतामा राखेर ग्यास  बजारमा ल्याउन आग्रह गरेका छन् । 

मंगलबार काठमाडौंमा आयोजित नेपाल एलपी ग्यास उद्योग संघको २८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

एलपी ग्यास सुरक्षाका दृष्टिले अत्यन्तै संवेदनशील वस्तु भएकाले सबै ग्यास उद्योगले आम उपभोक्ताको सुरक्षालाई प्राथमिकतामा राखेर उत्पादनलाई बजारमा ल्याउन मन्त्री रिजालले आग्रह गरे । 

उनले भने, ‘एलपी ग्यास सुरक्षाको दृष्टिले अत्यन्तै संवेदनशील वस्तु हो । सबै ग्यास उद्योगले आम उपभोक्ताको सुरक्षालाई प्राथमिकतामा राखेर आफ्नो उत्पादनलाई बजारमा ल्याउने छन् भन्ने विश्वास छ ।’

ग्यास उद्योगले राजस्व अभिवृद्धि र रोजगारी सिर्जना गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउन ठूलो योगदान पुर्याएकाले सरकारले उद्योग व्यवस्थित गरी कारोबारलाई सर्वसुलभ बनाउन कानुनी र नीतिगत सुधार गर्ने उनले बताए ।

‘ग्यास उद्योगले राजस्व अभिवृद्धि र रोजगारी सिर्जना गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउन ठूलो योगदान गरेका छन्’, मन्त्री रिजालले भने, ‘एलपी ग्यास उद्योग व्यवस्थित गरी कारोबारलाई सर्वसुलभ बनाउन सरकारले के कस्ता काुनी र नीतिगत सुधार गर्नुपर्छ, अवश्य गर्दै जाने छ ।’

उनले व्यावसायिक निष्ठालाई कायम राख्दै ग्यास उद्योगलाई व्यवस्थित र सुरक्षित उद्योगको रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १३:००
Weather Update