News Griha :: न्यूजगृह
आन्दोलनरत शिक्षकका जायज माग पूरा गर्न सरकार तयार छ : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं— कार्यवाहक प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाल शिक्षक महासंघसँग भएका सहमति कार्यान्वयन हुने बताएका छन् ।

सोमबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणबाट फर्किएलगत्तै कार्यान्वयनको चरणमा जाने बताएका हुन् ।

खड्काले महासंघसँगको सहमतिपछि पनि केही शिक्षकहरु आन्दोलित रहेको बताउँदै उनीहरूका जायज माग पूरा गर्न पनि सरकार तयार रहेको बताए । 

केन्द्रीय कार्यसमिति बैठकमा खड्काले भने, ‘नेपाल शिक्षक महासंघसँग भएको सहमतिमा राहत, बाल र पेन्सनसँग चित्त नबुझेको शिक्षकले हामीलाई अन्याय भयो भनेर आन्दोलनमा हुनुहुन्छ । उहाँहरुसँग कुराकानी भइरहेको छ । जायज माग पूरा गर्न तयार छ । महासंघसँग भएका सहमतिमा दायाँबायाँ हुँदैन । कार्यान्वयन हुन्छ ।’

खड्काले अगाडि भने,‘सम्माननीय प्रधानमन्त्री विदेशबाट आउनेबित्तिकै तत्काल कार्यान्वयन गर्नेगरी मानसिकता मैले बनाएर क्याबिनेटका साथीहरूसँग कुरा अगाडि बढाइसकेको छु ।’

सिफारिस

राहत—ईसीडी शिक्षक आन्दोलित, के हुन् माग ?

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १२:२२
Weather Update