News Griha :: न्यूजगृह
राहत—ईसीडी शिक्षक आन्दोलित, के हुन् माग ?

काठमाडौं— संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन माग गर्दै राहत र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

सरकार र शिक्षक महासंघबीच भएको सहमतिले आफूहरूको माग सम्बोधन नभएको राहत र ईसीडी शिक्षकको भनाइ छ ।

ईसीडी शिक्षकले बालविकास केन्द्रलाई विद्यालय संरचनाभित्र ल्याउनुपर्ने, बालविकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, बालविकास शिक्षकलाई आधारभूत तह (१–५) शिक्षक सरह तलब हुनुपर्ने र आन्तरिक प्रतिस्पर्धामा फेल हुने शिक्षकलाई अनुदान दिएर बिदा गर्नुपर्ने माग राखेका छन् ।

राहत शिक्षक केन्द्रीय समितिले भने राहत शिक्षकको ४० हजार दरबन्दीमा हाल राहत अनुदान कोटामा कार्यरत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन दिनुपर्ने माग राखेका छन् ।

शिक्षा विधेयकमा ‘राहत शिक्षक अनुदान कोटा दरबन्दीमा कायम भएपछि हुने विज्ञापनमा राहत तथा विशेष शिक्षामा कार्यरतलाई उमेर हद नलाग्ने, दरबन्दी कायम भएको राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारमा ५० प्रतिशत कार्यरत मध्येबाट पदपूर्ति हुने व्यवस्था छ ।

राहत शिक्षक केन्द्रीय समिति अध्यक्ष खेमराज अधिकारीले ४० हजार राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन दिने निर्णय नभएसम्म आन्दोलन जारी रहने बताए ।

बालविकास शिक्षकले केन्द्र सरकारले तलबको जिम्मेवारी लिनुपर्ने, बालविकास केन्द्र विद्यालय संरचनाभित्र ल्याइनुपर्ने, बालविकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, २० वर्षदेखि कार्यरतलाई स्वतः स्थायी प्रक्रियामा लैजानुपर्ने, बालविकास शिक्षकलाई आधारभूत तह (१–५) शिक्षक सरह तलब हुनुपर्ने, आन्तरिक प्रतिस्पर्धामा फेल हुने विद्यार्थीलाई अनुदानको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ११:०९
Weather Update