News Griha :: न्यूजगृह
कैद मिनाहा कानुन अनुसार नै दिइएको कार्यवाहक प्रधानमन्त्रीको जिकिर

काठमाडौं— कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट भएको कैद मिनाहाको बचाउ गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति समेत रहेका कार्यवाहक प्रधानमन्त्री खड्काले विवादमा परेका कैद मिनाहा पाएका व्यक्तिहरूको नाम नलिइकन संविधानसम्मत भएको दाबी गरेका हुन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संविधान दिवसका दिन कैद सरकारले कैद छुट दिएका व्यक्तिको विषयमा प्रश्न उठाएपछि खड्काले जवाफ दिएका हुन् ।

संविधान दिवसको दिन तरुण दलका नेता योगराज ढकाल (रिगल)को कैद मिनाहा गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल र कांग्रेसप्रति प्रश्न उठेको थियो

कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले संविधान, ऐन, नियमलाई टेकेर राष्ट्रपति समक्ष सिफारिस गरेको बताए । मुद्दा माफीका जति पनि निर्णय भएका छन्, संविधानले दिएको सुविधा भन्दा बाहिर केही पनि नभएको उनको दाबी छ ।

‘यति प्रतिशत जेल सजाय भोगिसकेपछि जेलमा त्यो कैदीले गरेको व्यवहार, उसको बानी व्यहोरामा आएको सुधारमा जेलरले गरेको सिफारिसका आधारमा जाने एउटा प्रक्रिया छ,’ खड्काले बैठकमा भने, ‘आममाफीको बन्दोबस्तको कुरा एउटा छ । र, नियमित तरिकाले कानुन र संविधानले दिएको छुट अनुसार यति समय जेल सजाय भोग्यो भने चालचलन अनुसार छुट्ने व्यवस्थाहरू छन् ।’

 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १९:४१
Weather Update