News Griha :: न्यूजगृह
भाइरल ज्वरोका बिरामी बढ्दै

मकवानपुर— हेटौँडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा अहिले भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा अहिले दैनिक एक सय ५० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका अस्पतालले जनाएको छ ।

ओपीडीमा परीक्षण गर्न आएकामध्ये हाल ८५ जना बिरामीलाई आन्तरिक कक्षमा भर्ना गरी उपचार भइरहेको अस्पतालमा मेसु डा‍‍.रामचन्द्र सापकोटाले जानकारी दिए ।

उनका अनुसार जिल्लाको दुर्गम क्षेत्रबाट पनि भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।

जिल्लाको थाहा नगरपालिकाका साथै आठ गाउँपालिकाको विभिन्न वडा र टोलमा भाइरल ज्वरोबाट नागरिक प्रभावित भएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्थानीय पालिकामा रहेका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रलगायत निजी अस्पतालमा समेत केहीदिनयता भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्य कार्यालयका अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए ।

उनले जिल्लाका सबै स्वास्थ्य कार्यालय तथा स्वास्थ्यमा आवश्यक औषधीसहित चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्पर्कमा राखी छिटोछरितो उपचार सेवा पुर्‍याउन निर्देशन दिइएको बताए ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १३:५६
Weather Update