
काठमाडौं— नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समिति अध्यक्ष कृष्णकुमारी थापा मगरले माग पूरा नभएसम्म आन्दोलन गर्ने बताएकी छिन् ।
असोज ३ गते नेपाल शिक्षक महासंघको आयोजनामा आन्दोलनमा होमिएको केन्द्रीय समिति अहिले पनि आन्दोलनमै छ । सरकार र महासंघबीच भएका सहमतिमा बाल शिक्षकका मागमुद्दा नपरेपछि केन्द्रीय समितिले भने आन्दोलन जारी राखेको हो ।
केन्द्रीय समितिले शिक्षक महासंघले बालविकास शिक्षकको कुनै पनि मुद्दा नउठाएर धोका दिएको बताएको छ ।
केन्द्रीय समिति अध्यक्ष कृष्ण मगरले भनिन्,‘हाम्रो पनि केही होला भनेर आन्दोलनमा सहभागी भयौं । तर सरकारसँगको सहमतिमा हाम्रो कुनै पनि कुरा समेटिएन । अब हाम्रो माग पूरा नभएसम्म आन्दोलनमा हुनेछौं ।’
अध्यक्ष थापाले आफूहरूलाई आन्दोलन गर्न बाध्य बनाइएको बताउँदै अविलम्ब वार्तामा बोलाउन माग गरिन् । उनले विद्यालय शिक्षालाई राम्रो गर्ने हो भने बालविकास शिक्षकलाई विद्यालय संरचनामा राख्नुपर्ने बताइन् । उनले भनिन्, ‘सामुदायिक विद्यालयको जग बालविकास हो । दरबन्दीमा लैजाहोस् न ! आन्तरिक प्रतिस्पर्धा गराओस् । हामी लड्न तयार छौं ।’














