साउन र भदौमा ५ अर्ब बढीको विद्युत् निर्यात
काठमाडौं— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा पाँच अर्ब ४३ करोड ३१ लाख रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ ।
प्राधिकरणले गत साउनमा एक अर्ब ९४ करोड ८४ लाख र भदौमा तीन अर्ब ४८ करोड ४८ लाख रुपैयाँ बराबरको विद्युत् भारतीय बजारमा निर्यात गरेको हो । दुई महिनामा तीन अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँ बराबर (पाँच अर्ब ४३ करोड ३१ लाख) विद्युत् निर्यात भएको हो ।
साउन र भदौमा भारततर्फ निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत बिक्रीदर क्रमशः आठ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ । दुई महिनाको समग्र औसत विद्युत् बिक्रीदर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा छ ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८० १७:४५