News Griha :: न्यूजगृह
चाडबाडमा चामल अभाव हुन नदिन के गर्दैछ खाद्य संस्थान ?

कञ्चनपुर— सुदूरपश्चिमका सात पहाडी जिल्लामा चाडपर्व नजिकिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले खाद्यान्न (चामल) निर्यात गरिरहेको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाका डिपो र बिक्री केन्द्रका लागि चालु आर्थिक वर्षको सुरुको कोटा ४० हजार क्विन्टल चामल रहे पनि चालु आव सुरु भएको दुई महिना बितिसक्दा पनि चामल ढुवानीको ठेक्का प्रक्रिया सकिएको छैन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख इन्जिला बस्नेतले चामल पठाउनका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको जनाउँदै हाल पछि स्वीकृत हुने र भाडा दिनेगरी आवश्यक जिल्लामा चामल पठाउने काम जारी रहेको बताइन् ।

कैलाली र कञ्चनपुरमा धान खरिद गरी पहाडी जिल्लामा चामल पठाउने गरिएको सुदूरपश्चिममा कर्मचारी अभावकै कारण डिपो हटाएर बिक्री केन्द्र सञ्चालन गरिएको छ ।

‘अहिले दार्चुलाको खण्डेश्वरी र बाजुराको कोल्टीमा डिपो र बाँकी सात पहाडी जिल्लाका विभिन्न स्थानमा ३६/३७ बिक्री केन्द्र सञ्चालमा छन्’, प्रमुख बस्नेतले भनिन्,‘पहिले सबै ठाउँमा डिपो थिए अहिले कर्मचारी अभावले बिक्री केन्द्रमा परिणत गर्नुपर्ने अवस्था आयो ।’

सुदूरपश्चिममा सबैभन्दा बढी बाजुरामा गत आर्थिक वर्षमा १७ हजार क्विन्टल चामल बिक्री भएको थियो । चालु आवका लागि १२ हजार क्विन्टल कोटा निर्धारण गरिएको छ ।

त्यसैगरी दार्चुलाको खण्डेश्वरी डिपोमा भने चामल अभाव देखिएको छ । त्यहाँ एक सय क्विन्टन मात्रै चामल मौज्दात रहेको छ ।

बैतडी र डोटीबाहेक सबै जिल्लामा खाद्यका शाखा कार्यालय छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा गत आर्थिक वर्षमा ४४ हजार क्विन्टन चामल खपत भएको थियो ।

पछि स्वीकृत गराउने गरी अहिले बाजुरा, डडेल्धुरा, बझाङ, अछाम र दार्चुलालगायतका जिल्लामा गरी १५ हजार क्विन्टल चालम निर्यात भइसकेको उनले जानकारी दिइन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १३:३८
Weather Update