
काठमाडौं— आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच बिहीबार बिहान भएको छलफल सकारात्मक भएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएको र छिट्टै औपचारिक वार्तामा बस्ने सहमति भएको हो ।
छलफलमा सहभागी महासंघका एक पदाधिकारीले भने,‘आज प्रारम्भिक चरणमा सामान्य कुराकानी भयो । हामीले माग राख्यौं । उहाँहरुले ‘माग पूरा हुन्छन्, आन्दोलन फिर्ता लिनुस्’ भन्नुभयो । अर्को दिन दुवै पक्ष औपचारिक वार्तामा बस्ने कुरा भएको छ ।’
संसदमा दर्ता भएको शिक्षा विधेयक शिक्षक कर्मचारीमैत्री नभएको भन्दै महासंघले बुधबारदेखि काठमाडौंमा आन्दोलन सुरु गरेको छ ।
महासंघको आन्दोलनले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प भएपछि सरकारले वार्तामा बोलाएको हो ।
वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी थिए ।














