News Griha :: न्यूजगृह
माओवादीले पठाएको पत्र एकता होइन, पार्टी प्रवेशका लागि हो : नेसपा 

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्र (माके) ले पठाएको पत्र पार्टी एकताका लागि नभइ नेसपाका केही मानिसहरू प्रवेश गराउन चालेको कदम भएको बताएको छ ।   

माओवादीले नेसपाका अध्यक्ष महिन्द्र राय यादवलाई सम्बोधन गरेर ‘पार्टी एकता’का लागि भदौ ३० गते पत्र पठाएको हो । 

अर्का अध्यक्ष डा.बाबुराम भट्टराई भारत भ्रमणमा रहेका कारण महिन्द्रलाई सम्बोधन गरिएको नेकपा माओवादी केन्द्रको स्रोतले बताए पनि नेसपाका एक नेताले भने ‘माओवादी वैचारिक र नैतिक रूपमा गिर्दै बाबुरामबाट आतंकित’ भएको जनाए ।

ती नेताले न्यूजगृहसँग भने,‘यदि एकताको निम्ति पत्राचार हुन्थ्यो भने वार्ता समितिको नाममा गर्नुपर्थ्यो । दुबै पार्टीबाट एकताका लागि वार्ता समिति बनाइएको छँदैछ ।’

विगतमा स्थानीय, प्रदेश र संघ तीनै तहको निर्वाचन प्रयोजनका लागि वा पार्टी सहकार्यको लागि गरिएको सम्पूर्ण पत्राचार नेसपा अध्यक्ष डा.बाबुराम भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाममा हुने गरेको थियो ।

हाल माओवादीले गरेको पत्राचार ती दुईवटै विकल्पभन्दा बाहिर गएर गरिएको बताउँदै ती नेताले भने,‘पत्राचार पार्टी एकता गर्ने मनसायका साथ नभइ नेसपा पार्टीभित्र अन्तर्विरोध सिर्जना गरी केही मान्छेलाई नेकपा माओवादी केन्द्रमा प्रवेश गराउने गलत मनसायबाट प्रेरित देखिन्छ ।’

अध्यक्ष यादवलगायत केही नेताहरू नेसपालाई माओवादीमा मिसाउन आतुर छन् भने डा.भट्टराई पक्षका नेताहरूले माओवादीसँग पार्टी एकताको सम्भावना नरहेको र नेसपालाई नै वैकल्पिक शक्तिको रूपमा सशक्त बनाउँदै लैजानुपर्ने बताउँछन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले संयुक्त रूपमा पठाएको पत्रमा सम्बोधन भने अर्का अध्यक्ष यादवलाई गरिएको छ । दुई जना अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीमा पहिलो वरीयताका अध्यक्ष डा.भट्टराई र दोस्रो वरीयतामा यादव छन् ।

प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र (गोरखा—२)  छोडेर संसदीय राजनीतिबाट बाहिरिएका डा.भट्टराईले बृहत् समाजवादी मोर्चा निर्माण गर्नुपर्ने बताउँदै आएका थिए । तर प्रचण्डकै रणनीतिमा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाको सहकार्यमा समाजवादी मोर्चा बन्यो ।  डा.भट्टराई भने मोर्चामा अटाएनन् ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १६:१०
Weather Update