काठमाडौं— पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले तत्काल कुनै पनि राजनीतिक पार्टीसँग एकता नगर्ने भएको छ । नेकपा माओवादी केन्द्रसँग एकता नहुने संकेत पाएपछि नेसपाले वैकल्पिक पार्टी निर्माण अभियानलाई निरन्तरता दिने भएको हो ।
विशेष गरी माओवादी केन्द्रसँग पार्टी एकता कार्य अगाडि बढाएको नेसपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चासो नदिँदा नेसपा आन्तरिक सुदृढीकरण, संगठन निर्माणमा देश दौडाहामा छ । अध्यक्ष डा.भट्टराईले सातवटै प्रदेशका नेता तथा कार्यकर्तासँग छलफल गरेका छन् ।
पार्टी एकताका लागि नेसपाबाट सहअध्यक्ष गंगा नारायण श्रेष्ठ र माओवादी केन्द्रबाट कृष्णबहादुर महराको संयोजकत्वमा संवाद समिति बनाइएको छ । सुरुमा नेसपा र माओवादी केन्द्रबीच एकता गरी समाजवादी केन्द्र बनाउने र पछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीलगायतका पार्टीलाई एकतामा समाहित गर्नेसम्मको योजना थियो ।
माओवादी ब्राण्ड हटाउनुपर्ने, झण्डा परिवर्तन गर्नुपर्ने र तल्ला तहसम्मका संरचना बदलेर वैकल्पिक पार्टी बनाउनुपर्ने भन्दै बाबुरामले प्रचण्डलाई १९ पृष्ठको प्रतिवेदन गंगा नारायण श्रेष्ठमार्फत दिएका थिए ।
नेसपा स्रोतका अनुसार उक्त प्रतिवेदन प्रचण्ड अध्ययन नै गरेका छैनन् र माओवादी ब्राण्ड छोड्न नमानेका प्रचण्डले पार्टी एकताप्रति चासो दिएका छैनन् । समाजवादी केन्द्र बनाउने प्रयास गरे पनि सफल हुने संकेत नदेखिएको बाबुराम निकट स्रोतले जानकारी दिएको छ ।
माओवादी छाडेपछि बाबुरामले विभिन्न प्रयोग गर्न खोजे तर सफल भएनन् । मुलुकको परिवर्तनका निम्ति नयाँ सोच र नयाँ घरको आवश्यकता रहेको भन्दै माओवादी परित्याग गरेका बाबुराम करिब सात वर्षपछि २०७९ साल ४ मंसिरमा सम्पन्न चुनावमा माओवादीको चुनाव चिह्नमा चुनाव लड्न पुगे तर सफल भएनन् ।
माओवादीसँग सहकार्यको कारण
४ मंसिरको आमचुनाव र १० वैशाखको उपचुनावसम्म आइपुग्दा बाबुराम र प्रचण्डबीच पार्टीगत रूपमा राम्रै सम्बन्धन थियो । तर वैकल्पिक पार्टी बनाउने भट्टराईको योजनामा प्रचण्डको चासो नदेखाएपछि बाबुराम नेसपालाई नै वैकल्पिक पार्टी बनाउन लागेका हुन् ।
डा.भट्टराईले माओवादीसँगको सहकार्यलाई आफ्नो अस्तित्व रक्षाका लागि भन्दा पनि गणतन्त्र संस्थागत गर्न र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका निम्ति भएको बताउँछन् । ‘कांग्रेस–माओवादीसँग यसकारण म सहकार्यमा छु, कि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नुपर्नेछ । शान्ति प्रक्रियाका कतिपय कामहरू बाँकी छन्,’ उनी भन्छन्, ‘खासगरी सत्यनिरुपण मेलमिलाप आयोग र द्वन्द्वपीडितहरूका घाउमा मल्हम लाउन बाँकी छ । त्यसलाई पुरा गर्न पुराना दलहरूसँग सहकार्य गर्न बाध्य छु ।’
यद्यपि वैकल्पिक शक्ति निर्माणको विजारोपण गरेका बाबुराम वैकल्पिक राजनीतिमै रहेको दाबी गर्छन् । उनी भन्छन्,‘वैकल्पिक राजनीतिमा मेरो पुरै मन छ । म यसको सुरुआतकर्ता नै हुँ । यी पुराना शक्तिबाट हुँदैन वैकल्पिक शक्तिमा जानुपर्छ भन्ने मेरो मान्यता यथावत् छ ।’
कुनै बेला डा.भट्टराईसँगै काम गरेका कुमार पौडेल राजनीतिमा उनी असफल प्रमाणित भएको बताउँछन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इञ्चार्ज रहेका उनी डा.भट्टराई अस्थिर र आत्मकेन्द्रित व्यक्ति भएको दाबी गर्छन् । उनले भने, उनले भने, उहाँ अस्थिर प्रवृत्तिको आत्मकेन्द्रित नेता हो । बौद्धिकताको ढोङ गर्ने तर संगठनतिर ध्यान नदिने नेता हो ।’
डा.भट्टराईले नयाँ शक्ति गठन गर्दा सँगै रहेर केही समय काम गरेका माओवादी नेता खिमलाल देवकोटा माओवादी नछाडेको भए अहिले उनी माओवादीको अध्यक्ष बनिसक्ने बताउँछन् ।
पार्टीभित्र प्रभाव रहेका बेला डा.भट्टराईले माओवादी छाडेका थिए । देवकोटाले भने,‘त्यतिबेला उहाँको माओवादीभित्र राम्रो प्रभाव थियो । पार्टी नछाडेको भए उहाँ अध्यक्ष हुनुहुन्थ्यो । पार्टीभित्रै अन्तरसंघर्ष गरेको भए धेरै नेताहरूको साथ पनि रहिरहन्थ्यो ।’
प्रा.डा.मदन कोइराला पनि डा.भट्टराईलाई कुनैबेला सम्भावना भएको नेताका रुपमा हेरे पनि दृष्टीकोणको अस्पष्टता र अस्थिर स्वभावका कारण राजनीतिमा असफल भएको बताउँछन् ।
कुनै बेला एकदमै सम्भावना बोकेको नेताका रूपमा आफूले हेरेको भन्दै प्रा.डा.कोइरालाले अहिले असफल अवस्थामा पुग्नु दुःखद् रहेको बताए । उनी भन्छन्, ‘संयोगले हामी एउटै विश्वविद्यालय पढेका रहेछौं । एउटा नागरिकका रुपमा म उहाँप्रति एकदम राम्रो सम्भावना देख्थे । उहाँ सम्भावना बोकेको नेता हुनुहुन्थ्यो तर, उहाँमा अस्थिरता देखियो । दृष्टिकोणमा स्पष्टता देखिएन’, उनले भने, ‘त्यो अस्थिरता र स्पष्ट दृष्टिकोणको अभावमा उहाँको राजनीति नै सकियो कि जस्तो लाग्छ । अब आशा गर्ने ठाउँ बाँकी छ जस्तो लाग्दैन ।’
उनले डा.भट्टराईले विधा परिवर्तन गर्न सक्ने सम्भावना देखेको बताए । ‘राजनीतिमा जुन उहाँको अस्थिरता देखियो । स्पष्टता देखिएन । त्यसकारणले पनि उहाँले बाँकी विधामा डाइभर्ट गर्नुहुन्छ कि जस्तो लाग्छु,’ प्रा.डा.कोइरालाले भने ।
नेसपाका सहअध्यक्ष रहेका बाग्मती प्रदेशका प्रदेश सभा सदस्य नारायण श्रेष्ठ वैकल्पिक शक्ति निर्माण गर्ने डा.भट्टराई समूहको अभियान उपलब्धिमूलक नभए पनि वैकल्पिक शक्तिको विचार भने असफल नभएको दाबी गर्छन् ।
कार्यान्वयनमा जाँदा कार्यशैलीको अभावमा नतिजा दिन नसके पनि वैचारिक रूपमा विकल्प खोजेको भन्ने कुरा अहिलेको निर्वाचनले पनि स्पष्ट पारेको उनले बताए ।
‘वैचारिक रूपबाट विकल्प खोजेको भन्ने कुरा अहिलेको उपनिर्वाचनबाट पनि पुष्टि भएको छ । चितवनमा रविजी । मधेसमा सिके राउतजीको नतिजाले पनि प्रमाणित गरेको छ’, बाग्मती प्रदेशका कानुनमन्त्रीसमेत रहेका श्रेष्ठले भने, ‘तत्कालीन नयाँ शक्ति पार्टीलाई वैकल्पिक बनाउने विकल्प शक्तिका रूपमा हामीले विकास गर्न सकेनौं होला तर, हामीले दिएको विचार सही रहेछ भन्ने कुरा अहिलेको नतिजाले देखाएको छ ।’