काठमाडौ— पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रभित्रको सावरीसाधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ ।पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्व इन्भेस्टमेन्ट प्रा.लि.ले पाएको भएपनि सम्झौता अनुसारको काम तथा समयमै बक्यौता रकम तीर्न नसकेका कारण उक्त सम्झौता रद्द गरिएको विकास कोषले जनाएको छ ।
पार्किङ सम्झौता रद्द गरी उक्त पार्किङ स्थल आजबाट विकास कोषले आफ्नो मातहतमा लिएको कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए । उनका अनुसार उक्त प्रा.लि.ले सवारी पार्किङ सञ्चालनबापत कोषलाई तीर्नु पर्ने पुरानो ४० लाख बढी रकम समयमै भुक्तान नगरेका कारण सम्झौता रद्द गरिएको हो ।
सञ्चालक परिषद्को गएको भदौ २१ गते बसेको बैठकले उक्त कम्पनीसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको कार्यकारी निर्देशक खतिवडाले बताए । उक्त कम्पनीले पशुपति क्षेत्र भित्र रहेको सवारी पार्किङ स्थल सञ्चालन गरेवापत विकास कोषलाई मासिक तीन लाख ४६ हजार तीर्ने गरी सम्झौता भएको विकास कोषले जनाएको छ ।
उक्त कम्पनीले पुरानो बक्यौता रकम ६० लाखमा केही हप्ता पहिले २० लाख बुझाए पनि अझै ४० लाख तीन बाँकी रहेको खतिवडाले जानकारी दिए । कोष र उक्त कम्पनीबीच पार्किङ व्यवस्थापनका लागि पाँच वर्षको सम्झौता भएपनि साढे दुई वर्षमा सम्झौता रद्द भएको छ ।
पशुपति क्षेत्र विकास कोषले दुई पाङ्ग्रे सवारी साधनका लागि १० र चारपाङ्ग्रे सवारीका लागि २५ पार्किङ शुल्क तोकेर कम्पनीसँग सम्झौता गरेको थियो । तर,कम्पनीले सो भन्दा बढी शुल्क उठाएको पाइएको आरोप छ ।कम्पनीमाथि राजस्व अनुसन्धान विभागले समेत अनुसन्धान गरिरहेको कोषले जनाएको छ ।