काभ्रे— परम्परागतरूपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बाली प्रवर्द्धन एवम् संरक्षण अभियान यसवर्ष बजेट अभावमा ओझेलामा परेको छ ।
गत आर्थिक वर्षसम्म बाग्मती प्रदेश सरकारले धुलिखेलस्थित कृषि ज्ञान केन्द्रमार्फत रैथाने बाली प्रवर्द्धन एवम् संरक्षण कार्यक्र प्राथमिकताकासाथ गर्दै आएको थियो ।
उक्त अभियानअन्तर्गत गत वर्ष काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ४० हेक्टर जमिनमा रैथाने बाली प्रवर्द्धन गर्न सुरु गरिएको थियो ।
यसका लागि दुवै जिल्लाबाट रैथाने बाली प्रवर्द्धन कार्यक्रम गर्न कृषक समूह तथा कृषि सहकारीसँग प्रस्ताव आह्वान गरी कार्यक्रम अघि बढाइएको केन्द्रका बागबानी विकास अधिकृत उमेश सापकोटाले जानकारी दिए ।
उनका अनुसार यस आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि बजेट नहुँदा अभियाननै स्थगित गरिएको हो ।यसअघि प्रदेश र संघीय सरकारले रैथाने बाली प्रवर्द्धनका लागि बर्सेनि बजेट थप्दै आएको अधिकृत सापकोटाले बताए ।
कृषि विभागमार्फत केन्द्रले दुई जिल्लामा यसको पकेट क्षेत्र घोषणा गरी ती क्षेत्रमा कोदो, फापर, लट्टे, कागुनो र जुनेलो खेती गरिएको थियो । रैथाने बालीको उत्पादन वर्षैपिच्छे बढ्दो परिमाणमा पाइएको बताइन्छ ।
पोषणको दृष्टिले महत्वपूर्ण मानिएका रैथाने बालीमा कागुनो, कोदो, चिनो, फापर, लट्टे, उवा, सिमीलगायत बाली पर्दछन् ।