बाग्लुङ— विश्व बैंकको अनुदानमा बाग्लुङ नगरपालिकाका तीन सडक कालोपत्र गरिने भएको छ । वि.सं.२०७७ मा विश्व बैंक र बाग्लुङ नगरपालिकाबीच अनुदानका लागि सम्झौताका गरिएको थियो । सम्झौता अनुसार ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गरिने भएको हो ।
सम्झौताअनुसार उक्त अनुदान नगरपालिकाले भौतिक पूर्वाधार र सामाजिक कार्यमा खर्च गर्नुपर्नेछ । नगरपालिकाले भौतिक पूर्वाधारमा सडकको विकास नै पहिलो विकास भएको भन्दै उक्त अनुदानमार्फत तीन सडक कालोपत्रे गर्ने गरी काम अघि बढाएको हो ।
सम्झौता तीन वर्षपछि कार्यान्वयनमा आउन थालेको हो । जसअनुसार दुई वर्षभित्र ती सडकहरु कालोपत्रे भइसक्ने गरी बाग्लुङ नगरपालिकाले डीपीआरको काम सुरु गरेको छ ।
नगरपालिकाअन्तर्गतका तीन सडकहरु आठ मिटर चौडा बनाइनेछ भने १३ किलोमिटर लम्बाइमा कालोपत्र गरिने भएको हो । डीपीआर सक्दासाथ ठेक्कामा लैजाने गरी सडकको स्थाल अनुगमन, नाप जाँच तथा विश्व बैंकका प्रतिनिधिले समेत अनुगमन गरिएको बाग्लुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाका अनुसार वडा नं ७ को मूलपानीदेखि तितौरेसम्म साढे आठ दशमलव छ किमी, ओडारचौरदेखि ढोडेनीसम्म साढे दुई किमी र गणेशघुम्तीदेखि नीरयघाटको डेढ किमी सडक कालोपत्र गर्न लागिएको बाग्लुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिए ।