News Griha :: न्यूजगृह
हात्तीले धानबाली नष्ट गरेपछि झापाका किसान कागती खेतीमा
फाइल तस्बिर

झापा— दैनिक हुल बाँधेर आउने जंगली हात्तीले धानबाली नष्ट गर्न थालेपछि झापाका किसानले वैकल्पिक खेतीकाे रुपमा कागतीखेती सुरु गरेका छन् । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सुरु गरेका हुन् ।

कम लगानी गर्दा पनि बढी आम्दानी हुने र हात्तीले नष्ट नगर्ने हुँदा कागती खेतीतर्फ किसान आकर्षित भएको हुन् । बाहुनडाँगीमा पाँच कठ्ठादेखि तीन विगाह क्षेत्रफलमा धानको साटो व्यावसायिक कागतीखेती भइरहेको वडाध्यक्ष अर्जुन कार्कीले बताए ।

उनका अनुसार वडा नम्बर ४ मात्र व्यावसायिक रुपमा कागतीखेती गर्ने किसान २५ भन्दाबढी छन् । उनले विगत चार वर्षअघि किसानलाई निःशुल्करुपमा कागतीको विरुवा नै वितरण गरिरहेको बताए ।

‘आठ वर्षअघि विश्व बैंकको लगानीमा हात्ती रोक्ने विद्युतीय घेराबारा १२ किलोमिटर गर्ने र १२ किलोमिटर कागती रोपेर जैविक फेन्सिङ गर्ने भन्ने योजना थियो’, उनले भने,‘तर बैंकसँग कागती रोप्नेभन्दा ढुङ्गामुढा लगाउन सस्तो पर्ने भएपछि कागती खेती भएन ।’

वडा नम्बर ४ मगरडाँडाका सन्तोष अधिकारीले कागती बेचेर वार्षिक २५ लाख आम्दानी गरेको बताए ।उनले धानखेतीबाट भन्दा कागती खेतीबाट प्रतिविघा पाँच लाख बढी नाफा भएको बताए । उनले चार वर्षअघि दुई विघा जमिनमा धानको साटो कागतीखेती सुरु गरेका हुन्  ।

बिरुवा लगाएको तीन वर्षदेखि कागतीले आम्दानी दिन सुरु गरेको उनको भनाइ छ । उनले बाह्रै महिना फल्ने सुनकागतीको खेती गरेका छन् । कागती किन्नका लागि विर्तामोड, धुलाबारी, काँकरभिट्टाका व्यापारीहरु घरमै आउने गरेको उनको भनाइ छ ।

बगानमै प्रतिकेजी ७५ ले कागती बिक्री हुँदै आएको उनले जानकारी दिए । उनले भने,‘धान तथा मकै बाली भित्र्याउन हात्तीले दिँदैनथ्यो तर कागती खेतीमा भने समस्या छैन ।’

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १४:३८
nepali_patro_2nepali_patro_2
Weather Update